Friday, October 22, 2021

न्यादीको आईपीओमा २० लाख लगानीकर्ताको हात खाली

५ कात्ति, काठमाडौं । शुक्रबार न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफँटमा २ लाख ९ हजार २५० जनाले हाइड्रोपावरको शेयर पाएका छन् ।

आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको गरेका थिए । जसमा १० हजार ४४२ आवेदन रद्द भएको थियो भने ३ हजार ५०४ आवेदन सिआस्वा प्रणालीले अस्वीकृत गरेको थियो । स्वीकृत भएका २२ लाख ४१ हजार १३८ आवेदनमा आईपीओे बाँडफाँट गरिएको हो ।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ४५ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणकालागि वितरण गरिएको  थियो ।



from Online Khabar https://ift.tt/3mbgLd7

नोर्दर्न ह्वाइट गैँडाः जम्मा दुईवटा पोथी बाँकी भएको दुर्लभ जातको अफ्रिकी गैँडामध्ये एकलाई प्रजनन योजनाबाट बिदा

बायोरेस्क्यू नामक वैज्ञानिक समूहका अनुसार नाजिनबाट थप डिम्ब सङ्कलन नगर्ने निर्णय गर्नुअघि विभिन्न जोखिम आकलन गरिएको थियो।

from BBC News नेपाल - समाचार https://ift.tt/3b2sjbX

नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज

काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो ।

नेपाल र इन्डोनेसियाबीचको खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटमा समूह बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नेछ । नेपालले पहिलो खेल आगामी सोमबार अक्टोबर २५ मा इरानसँग खेल्नेछ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका ६ खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय टोली तयार पारेका छन् । त्यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका अरु ५ खेलाडी पनि टिममा छन् ।

टिममा राष्ट्रिय टिमको अनुभव भइसकेका करिब आधा खेलाडी रहेकोले पनि यस पटक छनोटमा नेपालले राम्रो गर्ने आशा प्रशिक्षकले राखेका छन् ।

छनोटमा कूल ११ समूह छ । त्यसमा हरेक समूहको शीर्ष टोली एएफसी यू-२३ एसियन कपमा छनोट हुनेछन् । यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

आयोजक उज्वेकिस्तान भने यसअघि नै छनोट भइसकेको छ ।

नेपाली टिम 

अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिब गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट ।



from Online Khabar https://ift.tt/3DZfGLg

चीनले आक्रमण गरे ताइवानको सुरक्षा हामी गर्छौं: बाइडेन

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षा गर्ने बताएका छन् ।

एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् । ‘अवश्य पनि उक्त कार्य गर्ने हाम्रो प्रतिबद्धता हो’, अमेरिकाले ताइवानको रक्षा गर्छ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै बाइडेनले भने ।

बाइडेनको पछिल्लो अभिव्यक्ति अमेरिकाले लामो समयदेखि लिँदै आएको नीतिसँग मेल खाँदैन । तर उनको अभिव्यक्तिलाई अमेरिकी नीतिमा आएको परिवर्तनको रुपमा बुझ्न नहुने ह्वाइट हाउसका एक प्रवक्ताले प्रस्ट पारेका छन् ।

त्यस्तै, बाइडेनले चीनसँग जानीजानी हुने द्धन्द्धबाट आफू चिन्तित नहुने समेत बताएका छन् । अमेरिका विश्व इतिहासमै सबैभन्दा शक्तिशाली सैन्य शक्ति हो भन्ने सबैलाई थाहा भएको र चीन थप शक्तिशाली हुने कुराबाट चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।

ताइवानको सुरक्षासम्बन्धी पेचिलो मुद्दामा अमेरिकाले लामो समयदेखि ‘रणनीतिक अस्पष्टता’को नीति लिँदै आएको छ । यसको अर्थ चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा आफूले चाल्ने कदमबारे अमेरिका जानीजानी अस्पष्ट छ भन्ने हो ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको एक प्रान्त ठान्छ र आवश्यक परे बलपूर्वक आफूमा गाभ्न सक्ने बताउँदै आएको छ । तर ताइवानले भने आफू स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै आएको छ ।

ताइवानसँग अमेरिकाको औपचारिक कुटनीतिक सम्बन्ध छैन । यद्यपि, ताइवान सम्बन्ध ऐनअन्तर्गत अमेरिकाले ताइवानको सुरक्षा गर्ने उल्लेख छ र सोही प्रावधानबमोजिम हतियार बिक्री गर्दै आएको छ ।



from Online Khabar https://ift.tt/3b1PrYk

छायांकनमा ‘कबड्डी ४’

निर्देशक रामबाबु गुरुङको सफल सिरिज चलचित्र ‘कबड्डी’को चौथो श्रृङ्खलाको छायांकन मुस्ताङबाट सुरु हुने भएको छ । यो चलचित्रको छायांकनका लागि निर्देशक गुरुङ सहितको टोली ३ दिन अगाडि मुस्ताङ पुगेको थियो । यस्तै, चलचित्रका कलाकार र प्राविधिक टोली बिहिबार मुस्ताङतर्फ प्रस्थान गरेको छ ।

मुस्ताङमा रहेका निर्देशक गुरुङले अनलाइनखबरसँग भने–‘यसपटक हामीले ३५ दिनको सेड्यूल नै मुस्ताङमा छायांकन गर्दैछौ । म लगायत केही टोली ३ दिनदेखि यतै छ । कलाकारसहितको बाँकी टोली आज आइपुग्छ । तयारी अनुसार काम गर्न सकियो भने भोलीबाट हामी छायांकन सुरु गर्नेछौं ।’

मणिराम पोखरेल निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक गुरुङले सबै कुरा मिल्यो भने आफूले चलचित्रको प्रदर्शन मिति पनि चाडै तय गर्ने बताए । उनले भने–‘कोरोनाको तेश्रो भेरियन्ट आएन भने हामी यसपटक चलचित्र रिलिजका लागि प्रतिक्षा गर्ने सोचमा छैनौं ।’ रामबाबुले यो चलचित्रलाई ‘कबड्डी ४’ सिरिजको फाइनल गेम भनेका छन् ।



from Online Khabar https://ift.tt/3C6WD1d

वैदेशिक रोजगारीले परिवारमा विग्रह : कतै आत्महत्या, कतै सम्बन्धविच्छेद

वैदेशिक रोजगारीबाट कमाइ त भइरहेको होला तर त्यसको पारिवारिक र सामाजिक मूल्य असाध्यै महँगो परिरहेको छ ।

५ कात्तिक, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–४ नारायणचोक उत्तरतर्फ एउटा प्राथमिक विद्यालय छ । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोकबाट करीब १५ किलोमिटर दक्षिणमा पर्ने यो विद्यालयको उत्तरतर्फको टोलमा २२ परिवारको बसोबास छ ।

टोलका करीब सबैजसो घरका सदस्य वैदेशिक रोजगारीमा छन् । केही वैदेशिक रोजगारीबाट फर्किएका पनि छन् । वैदेशिक रोजगारीले गाउँमा देख्न सकिने परिवर्तन ल्याएको छ । पछिल्लो सात वर्षयता धेरैका घरका छाना फेरिएका छन् । सबैजसो परिवारको आर्थिक हैसियत थोरै भए पनि सुधारिएको छ । तर, यो आर्थिक सुधारको पारिवारिक मूल्य भने असाध्यै महँगो छ । २२ मध्ये पाँच परिवारमा वैदेशिक रोजगारीले विग्रह नै ल्याएको छ ।

पाँच वर्षअघि स्थानीय रोशन राई (परिवर्तित नाम) विवाह गरेर वैदेशिक रोजगारीमा गएका थिए । अढाइ वर्ष विदेश बसेर फर्कने तयारी गर्दै गर्दा घरबाट श्रीमती हराइन् । उनी घर आउनु भन्दा १५ दिनअघि नाबालक सन्तान घरमा छाडेर ‘पथरी बजार जान्छु’ भन्दै हिंडेकी श्रीमती फर्किइनन् । सोधीखोजी गर्दा पत्ता लाग्यो उनले दोस्रो विवाह गरिछन् ।

रोशनको घरको दायाँ–बायाँ अरू दुईवटा घर छन् । ती परिवारमा पनि उनकै जस्तो समस्या छ । घटना २०७६ साल फागुनतिरको हो । छिमेकी रामबहादुर राई (परिवर्तित नाम) पनि विदेशबाट फर्कनुअघि श्रीमती घरबाट हराइन् । खोज्दै जाँदा केही दिनपछि भेटिइन् । श्रीमतीले सल्लाह नगरी घर छाडेपछि विरक्तिएका रामबहादुर फेरि वैदेशिक रोजगारीमै हान्निए ।

राईका छिमेकी रमेश खड्का (परिवर्तित नाम) को घरमा पनि उस्तै समस्या छ । वैदेशिक रोजगारीको कमाइले उनले घर त बनाए तर नाबालक दुई छोरा–छोरी छाडेर श्रीमती बेपत्ता भएपछि परिवारमा समस्या थपिएको छ । बजार जान्छु भन्दै हिंडेकी उनकी श्रीमतीले दोस्रो विवाह गरेको थाहा पाएपछि आफन्तले कागज गरेर विवाह गरेका व्यक्तिको जिम्मा लगाइदिए । अहिले नाबालक सन्तान हजुरबा, हजुरआमाको संरक्षणमा छन् ।

रोशनको घरदेखि करीब १०० मिटर दक्षिणमा दीर्घबहादुर (परिवर्तित नाम) को घर छ । उनको पनि कथा यस्तै छ । उनी वैदेशिक रोजगारीमा गएपछि श्रीमती छिमेकीसँग नजिकिइन् । गाउँमा हल्ला चलेपछि स्थानीय समाजले छिमेकी युवकसँग उनको विवाह गराइदियो ।

वैदेशिक रोजगारीबाट कमाइ त केही भइरहेको होला तर यसको पारिवारिक र सामाजिक मूल्य असाध्यै महँगो परिरहेको छ भन्ने देखाउन नारायणचोक गाउँका यी दृष्टान्त पर्याप्त छन् ।

****

२८ असार २०७८ मा मोरङकै रंगेली नगरपालिका–५ आँपगाछीमा एक नवजात शिशुको हत्या भयो । राति जन्मिएकी शिशुको हत्यापछि परिवारका सदस्यले आफ्नो पसल भित्रै खाल्डो खनेर शव गाडेका थिए । यो कसूरमा प्रहरीले सुत्केरी महिला, महिलाका श्रीमान्, आमा–बुवा र प्रेमीलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।

जन्मिने वित्तिकै शिशु हत्याको कारण थियो ‘वैदेशिक रोजगार’ । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए । २०७७ चैतमा उनी आउँदा श्रीमती ६ महीनाकी गर्भवती थिइन् । श्रीमान्सँग खटपट भएपछि उनले छोरीलाई ब्ल्याङ्केटले बेरेर हत्या गरेको प्रहरीको दाबी छ । अहिले मोरङ जिल्ला अदालतमा यो मुद्दा चलिरहेको छ ।

हाम्रोमा विवाह र शारीरिक सम्बन्ध सामाजिक रूपमा स्वीकृत व्यक्तिहरूबीच मात्रै हुन्छ । अहिले मानिसहरू योभन्दा बाहिर जान खोजेका कारणले समस्या भएको हो । – डा. चन्द्र उपाध्याय, समाजशास्त्री

वरिष्ठ अधिवक्ता मीरा ढुंगानाका विचारमा, समाजले जबसम्म नवजात शिशु हत्याको घटनामा पुरुषको भूमिका र उसलाई जवाफदेही बनाउने कुरा खोज्दैन अनि केवल महिलाहरूलाई मात्रै प्रश्न उठाउँछ; महिलालाई समाजमा संघर्ष गर्न कठिन हुन्छ ।

ढुंगानाका भनाइमा, करीब पाँच वर्षअघिको एक अध्ययन अनुसार, नेपालमा करीब ९ लाख एकल महिलाको साथमा आफ्नो बच्चा थिए । र तिनमा अधिकांशमा पुरुष जिम्मेवारीबाट भागेका कारण महिला अलपत्र परेको अवस्था देखिन्थ्यो ।

यही अवस्थालाई ख्याल गरेर हुनसक्छ २०७८ असोजमा सार्वजनिक भएको सर्वोच्च अदालतको फैसलाले विवाह इतरको सम्बन्धबाट जन्मेको शिशु हत्याको घटनामा बाबुलाई पनि दोषी ठहर गरेको थियो । सर्वोच्चले हत्या भएको शिशुको बाबु पर्वतका मनबहादुर मल्लमाथिको सजायलाई पनि सदर गरेको छ ।

यसअघि नवजात शिशुको हत्याको घटनामा प्रायः आमा(महिला) मात्रै जोडिन्थे । शिशुको हत्या गर्ने आमा कुष्मादेवी (परिवर्तित नाम) लाई दुई वर्ष कैद सजाय ठहर भयो । उच्च अदालतबाट मनबहादुरलाई भएको चार वर्ष कैद सजाय सर्वोच्च अदालतले सदर गरेको हो । १८ वर्ष नपुगेकी नवजात शिशुकी आमा कुष्मादेवी भक्तपुरको बाल सुधार गृहमा थिइन् ।

फैसलामा अदालतले भनेको छ– ‘कसूर गर्दाका अवस्थामा प्रतिवादीको नाबालक उमेर, कसूरको प्रकृति, बच्चा जन्माएको सार्वजनिक भएमा प्रतिवादीलाई समाजले हेर्ने दृष्टिकोण समेतका लोकलाजबाट बच्नका लागि प्रस्तुत वारदात घटाउन निज बाध्य भएको अवस्था समेतलाई विचार गर्दा’ न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासको आदेशमा भनिएको थियो– ‘किशोर किशोरीहरू बीच हुने असुरक्षित यौन सम्बन्धसँग सम्बन्धित कसूरजन्य काममा कानून कार्यान्वयन गर्दा उदार दृष्टिकोण अपनाउनु उपयुक्त देखिन्छ ।’

‘त्यस्तो काममा संलग्न महिलाहरू क्रूर तथा अपराधी नभई सम्बन्धित पुरुष गैरजिम्मेवार भएको र लोकलज्जाका कारण त्यस्तो काम गर्न बाध्यात्मक अवस्था सृजना भई बच्चा जन्मनासाथ लुकाउने, छोड्ने वा मारिदिनुपर्ने अवस्था सृजना भएको हुनसक्छ’ फैसलामा भनिएको छ– ‘यस्तो परिस्थितिमा परेका महिलाहरूले गरेको ज्यान सम्बन्धी कार्य कसूरको रूपमा मानिने भएतापनि यथासम्भव मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने र कम उमेर समूहका महिला भए उनीहरूको विकासशील अवस्थालाई मध्यनजर गरिनुपर्ने हुन्छ ।’

****

महानगरीय प्रहरी परिसर, टेकुमा २०७४ फागुनमा एउटा फरक प्रकृतिको उजुरी आएको थियो, जसले अनुसन्धान अधिकृतहरूलाई नै अलमलमा पार्यो । झापा, बिर्तामोड घर भएका एक पुरुष आफ्नै भाइविरुद्ध भाउजूमाथि जबरजस्ती करणी गरेको भनेर किटानी जाहेरी लिएर आएका थिए ।

अनुसन्धान अधिकृतका अनुसार, वैदेशिक रोजगारीका लागि पटकपटक खाडी मुलुक गएका बेला देवर र भाउजूबीच सम्बन्ध झाँगियो । घरमा अधिकांश समय देवर, भाउजू मात्रै हुन्थे । उनीहरूबीच पटकपटक शारीरिक सम्बन्ध हुन्थ्यो । यस क्रममा देवरले भाउजूसँग सम्बन्ध राख्दै गर्दाको तस्वीर पनि खिचे । तर दाइ विदेशबाट फर्किने वेला भएपछि भाउजू देवरसँग टाढिन थालिन् ।

‘तर देवरले पुरानो तस्वीर दाइलाई पठाइदिन्छु भनेर ब्ल्याकमेल गरिरहेका रहेछन्’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘जिस्क्याउँदा जिस्क्याउँदै एकपटक दाइलाई फोटो सेन्ड भयो ।’ त्यसपछि घरमा शुरू भएको झगडा प्रहरी कार्यालयसम्म पुग्यो । प्रहरीमा भाइ विरुद्ध बलात्कारको किटानी जाहेरी थियो । तर तत्कालीन काठमाडौं प्रहरी प्रमुखले छुट्टाछुट्टै राखेर सोधपुछ गर्दा दुवैले सहमतिमा सम्बन्ध राखेको र दाइ विदेशबाट फर्किएपछि समस्या शुरू भएको खुल्यो ।

****

मोरङको हुक्लाबारीका २६ वर्षीय युवक वैदेशिक रोजगारीमा तीन वर्ष बसेर घर फर्किंदा रित्तोहात भए । ‘बिहे भएको ११ महीनामा विदेश गएका उनले पठाएको पैसा श्रीमतीले ढुकुटीमा लगाएको देखियो’ अधिवक्ता टीपी शर्मा कँडेल भन्छन्, ‘शुरूमा आर्थिक कारोबार जोडिएको भन्दै आएको मुद्दा पछि वैदेशिक रोजागारीसँग जोडियो ।’ कक्षा १२ सम्म पढेकी श्रीमतीले शुरूमा ब्याजमा पैसा दिएको बताइन्, त्यहींबाट उठेको मुद्दा सम्बन्धविच्छेदसम्म पुगेको कँडेल बताउँछन् ।

‘मुद्दा चलिरहेका बेला श्रीमती लागूऔषध सम्बन्धी कसूरमा पक्राउ परिन्’ कँडेल भन्छन्, ‘पहिले राम्रो चालचलन देखेर परिवारले राजीखुशीमा जोडेको सम्बन्धमा विदेशबाट आएको पैसाले विल्लीबाठ बनाइदियो ।’ उनका अनुसार श्रीमान्ले अदालतमा मनी ट्रान्सफरबाट पठाएको १५ लाख रुपैयाँको प्रमाण पनि पेश गरे । पटक–पटक गरेर २५ लाख रुपैयाँ पठाएको श्रीमान्को दाबी थियो ।

‘अदालतमा क्षतिपूर्ति सहित सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो’ उक्त मुद्दा हेरेका अधिवक्ता कँडेल भन्छन्, ‘अदालतले डेढ वर्षअघि सम्बन्धविच्छेद त गरिदियो तर क्षतिपूर्तिबारे चाहिं बोलेन ।’

****

मोरङ उर्लाबारीका धिमाल थरका एक पुरुषले १० वर्ष वैदेशिक रोजगारीमा काम गर्दा श्रीमतीलाई १५ लाख रुपैयाँ पठाए । गाउँमा रहेको आफ्नो नामको जग्गा बेचेर श्रीमतीको नाममा चोकमा एक कट्ठा जग्गा किनेर घर पनि बनाए । पछिल्लो पटक साउदीबाट फर्किएका उनी घर जान पाएका छैनन् । दाजुको घरमा बसेर श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा लडिरहेका छन् । कारण आफूले कमाएर पठाएको हिसाब खोजेपछि श्रीमतीसँग झगडा भएको र अहिले उनी अन्तै बस्न थालेको उनको भनाइ छ ।

****

प्रदेश–१ का यी केही प्रतिनिधिमूलक घटना हुन् । वैदेशिक रोजगारीले परिवारमा कतिसम्म विग्रह ल्याएको छ भन्ने थाहा पाउन गाह्रो छैन । जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, स्थानीय तह, जनप्रतिनिधि, सामाजिक संघ–संस्थाहरूमा गयो भने सहजै यसको तस्वीर बाहिर आउँछ । अझ पछिल्ला दिनमा त समाजमा हुने साना–ठूला अपराधको समेत कुनै न कुनै साइनो वैदेशिक रोजगारीसँग जोडिन थालेको छ ।

प्रदेश–१ मा वैदेशिक रोजगारी मामिला जोडिएका विवादको जानकारी राख्ने अधिवक्ता विनोदकुमार तिम्सिना क्रमशः यो समाजमा ठूलो चुनौतीको रूपमा देखिएको बताउँछन् । उनका भनाइमा, वैदेशिक रोजगारीको असर परिवार विग्रहसँग मात्रै जोडिएको छैन, समाजका जघन्य अपराधका घटनाहरूमा पनि कुनै न कुनै रूपमा यो मामिला जोडिन थालेको छ ।

अधिवक्ता तिम्सिनाका भनाइमा वैदेशिक रोजगारीले धेरै बालबालिकाको बिचल्ली बनाएको छ । परपुरुषसँगको सम्बन्धबाट जन्मिएको बच्चालाई परिवारले स्वीकार नगर्ने भएका कारण यस्ता बालबालिका या त मारिन्छन् नभए पनि चर्को पारिवारिक शोषणमा पर्छन् ।

जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार अहिले अदालत आउने व्यक्तिवादी मुद्दामा सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् । अदालतले मेलमिलाप गराउने प्रयास गर्छ, नभए मुद्दा प्रक्रियामा जान्छन् । उनका भनाइमा, ‘सानै उमेरमा विवाह भएका केही मुद्दा बाहेक अधिकांश सम्बन्धविच्छेदका मुद्दा वैदेशिक रोजगारीसँग जोडिएका हुन्छन् ।’

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अनुसार पनि सम्बन्धविच्छेदका मुद्दा बढ्दो क्रममा छन् । आर्थिक वर्ष २०७४/७५ मा उच्च अदालत विराटनगर र मातहतका इजलासमा सम्बन्धविच्छेदका मुद्दा ९३ वटा थिए भने आर्थिक वर्ष २०७५/७६ मा यो संख्या १४२ र आर्थिक वर्ष २०७६/७७ मा १८४ पुगेको थियो ।

प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसी वैदेशिक रोजगारीले गृह कलह बढेको बताउँछन् । वैदेशिक रोजगारीका कारण परिवारमा हुने विग्रह नेपाली समाजमा चुनौतीको रूपमा रहेको उनले बताए ।

कलहले अपराध बढाएको छ, मुद्दा बढेका छन् । सामाजिक विग्रह रोक्न प्रदेश प्रहरीले जनचेतना अभियान सञ्चालनको तयारी गरेको उनी बताउँछन् । कोरोना महामारीका कारण सामाजिक सचेतनाका कार्यक्रम प्रभावित भए पनि निकट भविष्यमा प्रहरीले ग्रामीण र शहरी क्षेत्रमा यस सम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरको भनाइमा, वैदेशिक रोजगारीले ठगी, बलात्कार, घरेलु हिंसा जस्ता सामाजिक अपराधलाई मात्रै बढाएको छैन, यो जघन्य हत्याको पनि कारक बन्न थालेको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रदेश–१ मा मात्रै ३६ जना श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्, दुई जना श्रीमती श्रीमान्को हत्या अभियोगमा समातिएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा प्रदेश–१ मा श्रीमान्ले श्रीमतीको हत्या गरेका १२ मुद्दा दर्ता भएका छन् भने चार वटा घटनामा श्रीमतीले श्रीमान्को हत्या गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा श्रीमान्ले श्रीमतीलाई हत्या गरेको १० र श्रीमतीले श्रीमान्को हत्या गरेको तीन वटा मुद्दा दर्ता भएका छन् ।

कुँवरका अनुसार श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको थाहा पाउने वित्तिकै कलह भएका कतिपय घटना जबरजस्तीकरणीको उजुरीसम्म पुग्छ । तर यस्ता अधिकांश घटना सहमतिमै हुने गरेको प्रहरी बताउँछ ।

‘उजुरी आएपछि प्रहरीले दर्ता नगर्ने भन्ने हुँदैन, अधिकांश घटनामा दुवै पक्षको कमजोरी देखिन्छ’ उनी भन्छन्, ‘जस्तै, बलात्कारको कुरा गर्दा शुरूमा उजुरी पर्छ, अनुसन्धान भएर फाइल अघि बढ्छ तर जब त्यो केस न्यायिक निरुपणको बाटोमा प्रवेश गर्छ, त्यसपछि आपसी मिलापत्र हुँदा मुद्दा स्थापित नभएको घटनाहरू छन् ।’ कतिपय घटना आर्थिक लेनदेनमा पनि टुंगिने गरेको उनी बताउँछन् ।

श्रीमान् विदेशतिर, श्रीमती र छोराछोरी शहरतिर

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मुलुकमा कोरोनाभाइरस महामारी भित्रिनु अघिसम्म नेपालबाट वार्षिक चारदेखि पाँच लाख नागरिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । महामारीपछि यो संख्या घटेर डेढ लाखमा झरेको छ ।

‘वर्षेनि विदेश गएका मध्ये १५ देखि २० प्रतिशतको घर भाँडिएकै छ, थप २५ प्रतिशत सामाजिक कारणले सहन बाध्य छन्’ नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमकुमार कार्की भन्छन्, ‘५० प्रतिशतमा कतै थाहा नभएको हुनसक्छ, कतै ठीकै पनि हुनसक्छ ।’

वैदेशिक रोजगारीले सिर्जना गरेका घटनाहरूले ‘जति पैसा कमाए पनि त्यसले खुशी किन्न नसकिने’ देखाएको छ –  दुर्गा सिंह, एसएसपी

उनका अनुसार वैदेशिक रोजगारीले नागरिकको आर्थिक हैसियत उकास्न सहयोग गरे पनि गम्भीर पारिवारिक र सांस्कृतिक विचलन पनि ल्याएको छ । ‘अहिले गाउँमा समेत संयुक्त परिवार पाउन मुश्किल छ’ मोरङमा सेवानिवृत्त जीवन विताइरहेका कार्की भन्छन्, ‘गाउँमा दुई कट्ठा जग्गामा खेतीपाती गरेर बसेको युवक जग्गा धितो राखेर विदेश जान्छ, श्रीमती, छोराछोरी शहरतिर पस्छन् ।’

छोराछोरी पनि विद्यालय जान थालेपछि फुसर्दिली श्रीमती गलत संगतमा फस्ने गरेको देखिएको उनी बताउँछन् । ‘गाउँबाट छोराछोरी पढाउने भन्दै शहरमा डेरा लिएर बसेपछि उसको काम गर्ने बानी हट्छ, सासूससुरासँग बस्न सक्दिनन्’ उनले सुनाए, ‘विदेशमा पसिना बगाएर कमाएको सम्पत्तिले पारिवारिक विचलनको बीउ रोपिरहेको हुन्छ ।’

‘श्रीमान् विदेशमा भएका थुप्रै महिला साइबर अपराध सम्बन्धी उजुरी लिएर प्रहरीकहाँ पुगिरहेका हुन्छन्’ कार्कीले भने, ‘कतिपय घटनामा त श्रीमान् विदेशमा अर्कैसँग र श्रीमती पनि यहाँ अर्कैसँग लाग्ने गरेको पनि भेटिएको छ ।’

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख सानुराम भट्टराई कतिपय आत्महत्याका घटनामा पनि वैदेशिक रोजगारी जोडिने बताउँछन् । उनी भन्छन्, ‘बिर्तामोडमा केहीअघि एक जना व्यक्तिले आत्महत्या गरे, अनुसन्धान गर्दै जाँदा कारण श्रीमतीसँग बेमेल भएको खुल्यो ।’

भट्टराईका अनुसार १४ फागुन २०७७ मा बिर्तामोड–७ स्थित रूखमा झुण्डिरहेको अवस्थामा एक युवकको शव भेटिएको थियो । ‘वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएर कमाएको पैसा उनले श्रीमतीलाई पठाएका रहेछन्, बेहिसाब तरिकाले श्रीमतीले खर्च गरिछन्’ प्रहरी उपरीक्षक (एसपी) भट्टराईले भने, ‘बैंक र सहकारीमा ऋण पनि नतिरेको अवस्थामा उनले श्रीमती अर्को व्यक्तिसँग नजिकिएको थाहा पाएका रहेछन् ।’

झापा प्रहरीका डीएसपी राकेश थापाका अनुसार अनुसन्धानका क्रममा उनकी श्रीमतीको अर्कै व्यक्तिसँग सम्बन्ध रहेको खुल्यो । ‘विभिन्न ठाउँमा घुम्न गएको र दुईबीचको टेलिफोन संवाद पनि हात पारेपछि श्रीमान् स्वदेश फर्किएका रहेछन्’ थापाले भने, ‘नेपाल आएर श्रीमान्–श्रीमतीबीच विवाद भएपछि उनले आत्महत्या गरेको खुल्यो ।’

मृतकको परिवारले श्रीमती र ती व्यक्ति विरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसूरमा किटानी जाहेरी दियो । त्यसको आधारमा उनी पक्राउ परिन् । उनीसँग जोडिएका पुरुष चाहिं अहिले पनि फरार छन् ।

नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा लामो समय काम गरेकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहका अनुसार, वैदेशिक रोजगारीले परिवारमा ल्याएको विग्रहमा महिला मात्र दोषी छैनन् ।

‘श्रीमती विदेश जाँदा श्रीमान्ले पनि यहाँ अर्कैसँग सम्बन्ध राख्ने प्रवृत्ति देखिन्छ’ हाल मानवबेचबिखन ब्यूरोकी प्रमुख रहेकी उनी भन्छिन्, ‘श्रीमान्–श्रीमतीमध्ये जो तेस्रो व्यक्तिसँग नजिकिए पनि त्यसले परिवार र छोराछोरीमा गम्भीर असर पारिरहेको हुन्छ ।’ बुवाआमाको झगडाबारे बालबालिकामा मनोवैज्ञानिक समस्या त सिर्जना भएकै हुन्छ, बालबालिकाको रेखदेख र हेरचाहमा पनि असर गरिरहेको हुन्छ ।

झापाको कनकाई नगरपालिकाकी उपमेयर मञ्जु प्रसाईं पछिल्लो समय स्थानीय न्यायिक समितिमा आउने उजुरीमध्ये अधिकांश वैदेशिक रोजगारीसँग जोडिने गरेको बताउँछिन् । ‘विवाह गर्नेवित्तिकै छाडेर वैदेशिक रोजगारीमा जाने चलन छ, दुई जना नजिक भइनसक्दै विदेश जाँदा समस्या आइरहेको छ’ प्रसाईं भन्छिन्, ‘वैदेशिक रोजगारीले गाउँघरमा पारेको असर देखेर विदेश जाने व्यक्ति आफैंले पनि भविष्यमा आउन सक्ने समस्याबारे सोच्नुपर्छ ।’

तीनै तहका सरकार: ‘जनचेतना बढाऊ’ 

प्रदेश–१ सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई वैदेशिक रोजगारीका नकारात्मक पक्ष मात्रै होइन, सकारात्मक पक्ष पनि उत्तिकै भएको ठान्छन् । आर्थिक उपार्जनसँगै मानिसको सामाजिक हैसियत यसबाट माथि उकासिएको उनको तर्क छ ।

भट्टराई भन्छन्, ‘सामाजिक विकृति पनि छन् । त्यसैले अब वैदेशिक रोजगारीसँग जोडिएको विकृतिलाई न्यूनीकरण गर्न संघ, प्रदेश र स्थानीय सरकारले जनचेतना जगाउने कार्यक्रम चलाउनुपर्ने उनको भनाइ छ ।

समाजशास्त्री डा.चन्द्र उपाध्याय पनि वैदेशिक रोजगारीले प्रदेश–१ को समाजको आर्थिक हैसियत माथि उकासेको बताउँछन् । पारिवारिक रूपमा विचलन देखिएको स्वीकार गर्दै उनले भने, ‘समाज र संस्कृति सँगसँगै जाने हो । जुन कुरा संस्कृतिले अपनाउँदैन त्यो कुरा समाजमा गर्न मिल्दैन ।’

‘हाम्रोमा विवाह र शारीरिक सम्बन्ध सामाजिक रूपमा स्वीकृत व्यक्तिहरूबीच मात्रै हुन्छ’ उपाध्याय भन्छन्, ‘अहिले मानिसहरू योभन्दा बाहिर जान खोजेका कारणले समस्या भएको हो ।’

विवाह गर्नेवित्तिकै छाडेर वैदेशिक रोजगारीमा जाने चलन छ, दुई जना नजिक भइनसक्दै विदेश जाँदा समस्या आइरहेको छ – मञ्जु प्रसाइँ, उपमेयर, कनकाई नगरपालिका

तर वरिष्ठ अधिवक्ता मीरा ढुंगानाको भनाइ फरक छ । उनका विचारमा महिलाहरूले घर छाडेर हिंडनुपर्ने धेरै कारण समाजमा छन् । उनका विचारमा महिलाहरू बिहे गरेर पुरुषको घरमा जान्छन् । निरीह हुन्छन्, अन्यायमा पर्छन् । अनि उनीहरूमाथि घरेलु लगायत अन्य हिंसा पनि हुन्छ । कतिपय अवस्थामा त महिलाहरू अरूसँग बोलेमा, कुरा गरेमा पनि चरित्रमाथि प्रश्न उठाएर हेर्ने प्रवृत्ति समाजमा व्याप्त छ । त्यसले पनि उनीहरूलाई घर छाड्न बाध्य बनाउँछ ।

अधिवक्ता ढुंगानाका विचारमा, मञ्जुरी होस् या जबर्जस्ती सम्बन्धका कारण गर्भवती भएका महिलाहरूले घटना बाहिर ल्याउन नसक्दा उनीहरू नै पीडित भएका उदाहरण छन् । लोकलाज, सामाजिक परिवेश वा अन्य कारणले महिलालाई आफू समाजमा स्थापित हुन सक्छु भन्ने आँट नै आउँदैन र तत्कालीन रूपमा समाधान हुने देखेर आवेशमा नवजात शिशुको हत्या गरेका हुन्छन् । पुरुषले सुनियोजित रूपमा प्रभावमा पारेका घटनामा पनि महिलालाई नै समाजमा संघर्ष गर्न कठिन हुने देखिन्छ ।

पाटन संयुक्त क्याम्पस, समाजशास्त्रका प्राध्यापक राम केसी भन्छन्, ‘परम्परागत पारिवारिक संरचना खुकुलो हुँदै गएको छ । पहिलेको तुलनामा मानिसले शिक्षादीक्षा, सञ्चारको विकास लगायत कारणले स्वतन्त्रताको अलि बढी उपयोग गरिरहेका छन् । संयुक्त परिवार एकलमा रूपान्तरण हुँदै गएको छ । त्यसले मानिसलाई बन्धनमुक्त पनि बनाएको छ ।’

समाजशास्त्री केसीका भनाइमा, मानिसहरूको स्वच्छन्द स्वभाव वातावरण र अरू कारणहरूबाट पनि जोडिन्छ । मानिसहरू स्वभावैले स्वच्छन्द, स्वतन्त्र र स्वार्थयुक्त प्रकृतिका हुन्छन् । सामाजिक मूल्यमान्यताले मानिसलाई एउटा दायरामा संकुचित गरेको हुन्छ । कुनै न कुनै कारणले स्वच्छन्दताको उपयोग भएपछि वा दायराबाट बाहिर गएपछि विवाहइतरका सम्बन्ध हुने, त्यसले पारिवारिक दुर्घटना निम्तिने अवस्था सिर्जना हुन्छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंह वैदेशिक रोजगारीले सिर्जना गरेका घटनाहरू हेर्दा ‘जति पैसा कमाए पनि त्यसले खुशी किन्न नसकिने’ देखिएको बताउँछिन् । ‘अब यसको समाधान भनेको हाम्रै गाउँठाउँमा रोजगारीको वातावरण सिर्जना गराउनु नै हो’ उनी थप्छिन्, ‘स्वदेशमा उद्योग र रोजगारीका क्षेत्र बढाएर विदेशप्रतिको मोहलाई घटाउन सक्नुपर्छ, नत्र जबसम्म वैदेशिक रोजगारीमा जाने क्रेज रहिरहन्छ, तबसम्म यस्ता खाले समस्या हट्दैन ।’

यो पनि पढ्नुहोस ‘पारिवारिक विग्रह रोक्न तीनै तहका सरकारले काम गर्नुपर्छ’ यो पनि पढ्नुहोस ‘आपसी विश्वासको अभावले परिवारमा विघटन आउँदैछ’ 

from Online Khabar https://ift.tt/3C7psKH

‘आपसी विश्वासको अभावले परिवारमा विघटन आउँदैछ’ 

कुनै पनि सामाजिक सम्बन्ध; चाहे त्यो व्यावसायिक होस् वा श्रीमान्–श्रीमती बीचको, त्यसमा दुई वटा महत्वपूर्ण पक्ष हुन्छन्— आपसी सम्मान र विश्वास अनि यौन ।

आपसी सम्मान र विश्वासको कमी भएपछि सम्बन्ध सधैं तनावपूर्ण हुन्छ । त्यसैले वैदेशिक रोजगारी सम्बन्धविच्छेदको देखिने कारण मात्रै हो, वास्तविक कारण परिवारबीचको आपसी सम्बन्ध र विश्वासमा भएको अभाव हो ।

त्यसैगरी यौन सम्बन्ध अर्को कारण हो । यौन एउटा जैविक आवश्यकता हो । जसरी मानिसलाई गाँस, बास र आवास चाहिन्छ त्यसरी नै यौन पनि जैविक आवश्यकता हो । यसलाई बेवास्ता गर्न मिल्दैन । वैदेशिक रोजगारीको प्रयोजनका लागि वर्षाैंसम्म छुट्टिएर बस्नुपर्ने भएपछि त्यस अवस्थामा यौन चाहनाले विचलन ल्याउन सक्छ ।

यो महिला र पुरुष दुवैमा देखिन्छ । वैदेशिक रोजगारीमा गएका पुरुषहरू आउँदा विभिन्न यौन रोग लिएर आएका घटना पनि छन् । आपसी सम्मान र विश्वास भयो भने श्रीमान्–श्रीमती सँगै बस्नुपर्छ भन्ने छैन । जहाँ भए पनि सम्बन्ध सुमधुर रहन्छ । तर, सँगै बस्दा पनि विश्वास भएन भने सम्बन्ध बलियो रहन्न ।

विचलन ल्याउने काम निश्चय नै वैदेशिक रोजगारीले गरेको छ । सामाजिक विग्रह र परिवार विघटन रोक्न राज्यले रोजगारीसँगै सामाजिक चेतना विकास गर्ने अभियान चलाउनु आवश्यक छ

केही दिनअघि म नोबल मेडिकल कलेजमा डाक्टर रामहरि घिमिरेलाई भेट्न जाँदा थुप्रै महिला बिरामी आउनुभएको थियो । करीब आधा घण्टा जति बसें होला त्यहाँ, त्यसबेला आउने अधिकांश बिरामीलाई डाक्टरसाबले मानसिक परामर्शका लागि पठाउनुभयो । समस्या सबैको साझा थियो, श्रीमान् विदेशमा थिए ।

श्रीमान् वा श्रीमती विदेशमा रहँदा दुई वटा कुराको तनाव रहन्छ । पहिलो मिल्ने मान्छे आफूसँग छैन, अनि जैविक आवश्यकता पूरा भएको छैन । अर्काे कुरा घर व्यवहारको तनाव छ । विवाह गरेर आएकी महिलालाई छोरी सरहको व्यवहार गरेको त भन्छौं तर त्यहाँ नदेखिने तनाव हुँदोरहेछ । जसले गर्दा त्यस्ता महिलामा मानसिक समस्या देखिने गरेको डाक्टर घिमिरेले बताउनुभयो ।

मानिस एउटा समझदारीमा विदेश गएको हुन्छ । दुई वर्षमा फर्कने समझदारी हुँदा किन धैर्य रहेन ? मेरो विचारमा त्यसको विचलनको पछाडि इन्टरनेट प्रविधिसँगको पहुँच र भौतिक जीवनशैलीमा आएको परिवर्तन नै हो ।

आर्थिक हैसियत बढेपछि मानिसको जीवनशैलीमा परिवर्तन आउँछ । चाहनाहरू बढ्छन् । आर्थिक रूपमा सम्पन्न भएपछि विचलन धेरै हुन्छन् । सुनसरीमा मैले अध्ययन गर्दा केही परिवारमा श्रीमान्ले पैसा कमाएर ल्याएपछि श्रमतीलाई गरेको दुव्र्यवहारले पनि सम्बन्धविच्छेदसम्म पुगेको देखेको थिएँ । विवाह हुँदा समान आर्थिक हैसियत भए पनि पछि लोग्नेले पैसा कमाएपछि श्रीमतीमाथि दुव्र्यवहार भएको पनि देखियो । अर्थात् सम्पन्नताले पनि मानिसमा विचलन ल्याउँदो रहेछ ।

तर यसो भनेर वैदेशिक रोजगारीका सकारात्मक पक्षलाई बिर्सनुहुन्न । समाजमा धेरै सकारात्मक पक्ष पनि छन् । श्रीमान्ले विदेशबाट पठाएको पैसाले श्रीमतीले व्यवसाय गरेका छन् । छोराछोरी पढाएका छन् । आर्थिक सम्पन्नता प्राप्त गरेका सफलताका कथा पनि धेरै छन् ।

समग्र वैदेशिक रोजगारीको अवस्था हेर्ने हो भने यसबाट आएको पैसा कहाँ खर्च हुन्छ भन्ने ठूलो कुरा हो । उत्पादनमूलक क्षेत्रमा लगानी अति न्यून छ । भौतिक सामग्री खरीदमा विदेशको पैसा खर्च भएको छ । यसलाई उत्पादनमा जोड्न सकिएको छैन ।

व्यक्तिसँग नगद भएपछि गलत कामका लागि पनि आँट आउन सक्छ । जैविक आवश्यकता हुँदा विकल्पहरू प्रयोग गर्न नसक्ने, चाहनालाई नियन्त्रण गर्न नसक्ने अवस्थाले पारिवारिक विघटन भएका थुप्रै उदाहरण छन् ।

अतिरिक्त आय, सम्पन्नता, यौन सन्तुष्टि परिपूर्ति गर्न नसक्ने अवस्थाले मानिसमा विचलन ल्याउँछ । यसमा महिलालाई मात्रै दोष दिन मिल्दैन, पुरुष पनि उत्तिकै दोषी छन् । यौनप्रतिको हाम्रो बुझाइ, यौन व्यवहारमा भएका बन्धन जिम्मेवार छन् ।

परिवारको विघटनले हाम्रो समाजमा नकारात्मक असर गर्छ । समाज र संस्कृति सँगसँगै जाने विषय हो । जुन कुरा संस्कृतिले अपनाउँदैन त्यो कुरा समाजमा गर्न मिल्दैन । हाम्रोमा विवाह र शारीरिक सम्बन्ध सामाजिक रूपमा स्वीकृत व्यक्तिहरूबीच मात्रै हुन्छ । आजको यो विचलनले भोलिका दिनमा समाजमा अस्थिरता ल्याउन सक्छ । पश्चिमा मुलुकको जस्तो संस्कृति भए ठूलो प्रभाव पर्दैनथ्यो होला ।

सामाजिक विकृति रोक्न राज्यले योजना बनाउनुपर्छ । स्वदेशमै रोजगारीको अवसर सृजना भयो भने वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था नै रहँदैन । सामाजिक चेतनास्तर पनि सुधार गर्न आवश्यक छ । वैदेशिक रोजगारीमा गए पनि त्यहाँबाट प्राप्त आम्दानी कसरी खर्च गर्ने भन्ने विषयमा समाजमा सचेतना कार्यक्रम चलाउनुपर्छ । वैदेशिक रोजगारीको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुनु राज्यका लागि पनि नोक्सानको विषय हो ।

आर्थिक हैसियत बढेपछि मानिसको आवश्यकता बढ्छ । जीवनशैली परिवर्तन हन्छ । आर्थिक रूपमा सम्पन्न भएपछि यस्ता विचलन पनि धेरै हुन्छन् । यो विचलन ल्याउने काम निश्चय नै वैदेशिक रोजगारीले गरेको छ । सामाजिक विग्रह र परिवार विघटन रोक्न राज्यले रोजगारीसँगै सामाजिक चेतना विकास गर्ने अभियान चलाउनु आवश्यक छ ।

(महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा प्राध्यापनरत समाजशास्त्री उपाध्यायसँग अनलाइनखबरकर्मी हरि अधिकारीले गरेको कुराकानीमा आधारित ।)



from Online Khabar https://ift.tt/3jKeaVV